ओशोको जन्म ११ डिसेम्बर १९३१ मा भारतको मध्य प्रदेशस्थित कुचवाडामा भएको थियो। बाल्यकालदेखि नै उहाँले वरपरको समाजका चलनहरू नमान्ने कुरा स्पष्ट थियो। जीवनका पहिला सात वर्ष उहाँले आफ्ना मावली हजुरबुबा र हजुरआमासँग बिताउनुभयो। उहाँहरूले ओशोलाई उहाँ जस्तो हुनुहुन्थ्यो त्यस्तै रहन पाउने त्यस्तो स्वतन्त्रता दिनुभयो, जुन धेरैजसो बालबालिकाले कहिल्यै पाउँदैनन्।

उहाँ आफैंले भन्नुभएअनुसार, मावली हजुरबुबाको मृत्युले उहाँको आन्तरिक जीवनमा गहिरो प्रभाव पार्‍यो र जीवनमा मृत्युहीन तत्त्व खोज्ने सङ्कल्प जगायो।
त्यसपछि उहाँ आमाबुबासँग बस्न थाल्नुभयो। विद्यालय जाने बेलासम्म उहाँमा आफ्नो जीवनलाई साँचोमा ढाल्ने वयस्कहरूका हरेक प्रयासलाई चुनौती दिन सक्ने स्पष्टता र साहस आइसकेको थियो, र उहाँका आफ्नै धारणा दृढ भइसकेका थिए। उहाँ विवादबाट कहिल्यै पछि हट्नुभएन।

उहाँका लागि सत्यमा सम्झौता हुन सक्दैनथ्यो; सम्झौता गर्न मिल्ने कुरा सत्य रहँदैन। सत्य विश्वास गर्ने कुरा पनि होइन, किनकि सत्य त स्वयं अनुभव हो। आफूले भनेका कुरामा विश्वास नगरी ती साँचो हुन् कि होइनन् भनी आफैं प्रयोग गरेर हेर्न उहाँले आग्रह गर्नुभयो। साथै, विश्वास भनेको अज्ञातको सामना गर्दाको चिन्ता कम गर्ने सान्त्वना मात्र हो, वा रहस्य र अज्ञात सत्यसँग भेट हुन नदिने बार हो भन्ने कुरा उदाङ्गो पार्न उहाँले कुनै कसर बाँकी राख्नुभएन।

२१ वर्षको उमेरमा बुद्धत्व प्राप्त गरेपछि उहाँले विश्वविद्यालयको अध्ययन पूरा गर्नुभयो र केही वर्ष जबलपुरको विश्वविद्यालयमा दर्शनशास्त्र पढाउनुभयो। साथसाथै प्रवचन दिँदै सम्पूर्ण भारत भ्रमण गर्नुभयो, सार्वजनिक बहसमा परम्परागत धार्मिक अगुवाहरूलाई चुनौती दिनुभयो र विभिन्न क्षेत्रका मानिसहरूलाई भेट्नुभयो।

सन् १९६० को दशकको अन्त्यतिर उहाँले आफ्नै ध्यान विधि, डायनामिक ध्यान, विकास गर्न थाल्नुभयो। ओशोका अनुसार आधुनिक मानिसले अतीतका पुराना रूढि र आधुनिक जीवनका चिन्ताको ठूलो भारी बोकेको हुन्छ, त्यसैले गहिरो शुद्धीकरणको प्रक्रियाबाट नगुज्रिकन शिथिल र विचाररहित ध्यानको अवस्था पाउन गाह्रो हुन्छ। यही समयमा उहाँले भारतका विभिन्न ठाउँमा ध्यान शिविर सुरु गर्नुभयो। सन् १९७० को दशकको सुरुमा पश्चिमेली मानिसहरूले पनि उहाँका कुरा सुन्न थाले। त्यसअघि भारतीयहरू नव-संन्यासीका रूपमा उहाँका शिष्य बन्दै आएका थिए, र त्यसपछि पश्चिमेलीहरू पनि धेरै सङ्ख्यामा शिष्य बन्न थाले।

सन् १९७४ मा भारतको पुनामा ओशोकेन्द्रित कम्युन तयार भयो, र पश्चिमबाट थोरै मात्र आउने आगन्तुकहरू छिट्टै भेलजस्तै आउन थाले। सन् १९७० को दशकको अन्त्यसम्ममा पुना कम्युन उपचार र विकासका लागि विश्वकै सबैभन्दा ठूलो केन्द्र बनिसकेको थियो। थेरापी समूह र ध्यानका लागि, ओशोका बिहानका प्रवचनका लागि, साँझको दर्शनमा उहाँसँग बस्नका लागि र कम्युनको जीवनमा समर्पित हुनका लागि हजारौं मानिसहरू आउन थाले।

सन् १९८१ देखि १९८५ सम्म कम्युनको प्रयोग संयुक्त राज्य अमेरिकाको ओरेगन राज्यको पूर्वी भागमा रहेको १२६ वर्ग माइलको उच्च मरुभूमिमा अघि बढ्यो। सुरुको कम्युन जीवन ‘मरुभूमिको मरुद्यान’ भनिने रजनीशपुरम् सहरको निर्माणमा केन्द्रित थियो। त्यहाँका ध्यान र उपचार कार्यक्रम रजनीश अन्तर्राष्ट्रिय ध्यान विश्वविद्यालयले सञ्चालन गर्‍यो, जसले लामो अवधिका पाठ्यक्रम र तालिम विकास गरी अझ व्यापक सहभागीहरूलाई आकर्षित गर्‍यो।

सन् १९८५ को अन्त्यमा ओशो र कम्युनप्रति स्थानीय बासिन्दा र सरकारको विरोधका कारण यो प्रयोग समाप्त भयो। कम्युन विघटन भयो र ओशो विश्व भ्रमणमा निस्कनुभयो। सन् १९८६ को मध्यतिर उहाँ भारत फर्कनुभयो र सन् १९८७ जनवरीसम्ममा फेरि पुनामा बसेर दिनको दुई पटक प्रवचन दिन थाल्नुभयो। केही महिनाभित्रै पुना कम्युनले आफ्ना सबै कार्यक्रम पुनः सुरु गर्‍यो, र ती पहिलेभन्दा पनि व्यापक रूपमा फैलिए।

पूर्वबाट, विशेषगरी जापानबाट, झन् धेरै मानिसहरू आउन थाले। उनीहरूको सहभागिताले उपचार र मार्सल आर्टका कार्यक्रम अझ समृद्ध भए, र यो विविधता सबै कार्यक्रमलाई समेट्न ओशोले रोज्नुभएको ‘मल्टिभर्सिटी’ नाममा झल्कन्छ। ध्यानमा पनि झन् जोड दिइयो, जुन ओशोले आफ्ना प्रवचनमा बारम्बार दोहोर्‍याउनुभएको विषय हो। ओशोले ‘नो-माइन्ड’, ‘मिस्टिक रोज’ र ‘बोर्न अगेन’ लगायतका केही नयाँ ध्यानात्मक उपचार विधिहरू पनि विकास गरी प्रस्तुत गर्नुभयो।

सन् १९८७ को मध्यतिरबाट ओशोको स्वास्थ्य बिग्रन थाल्यो र उहाँ प्रायः प्रवचन दिन असमर्थ हुनुभयो। प्रश्नहरूको उत्तर दिँदै जेन ग्रन्थहरूबारे बोल्नुभएको सन् १९८९ अप्रिलको प्रवचन नै अन्तिम रह्यो। त्यसपछिका महिनाहरूमा स्वास्थ्यले दिएसम्म उहाँ शिष्यहरूसँग बस्न साँझको सङ्गीत र मौन ध्यानमा आउनुहुन्थ्यो।

ओशोले १९ जनवरी १९९० मा शरीर त्याग गर्नुभयो। त्यसको केही हप्ताअघि आफू गएपछि आफ्नो कामको के हुन्छ भनी सोध्दा उहाँले अस्तित्वमाथि आफ्नो विश्वास पूर्ण रहेको र आफ्ना कुरामा कुनै सत्य छ भने त्यो बाँकी रहने जवाफ दिनुभयो। मानिसहरू अरू कसैको अनुसरण नगरी आफैं विकसित होऊन् र आफूलाई चिनून् भन्ने उहाँको चाहना थियो।

शरीर त्याग गर्नुअघि ओशोले आफ्नो समाधिका लागि शिलालेख लेखाउनुभएको थियो। उहाँको अस्तु राखिएको सङ्गमरमर र ऐनाको कोठामा यस्तो लेखिएको छ:

OSHO
Never Born, Never Died
Only Visited this Planet Earth between
December 11, 1931 – January 19, 1990

ओशोले आफ्नो कामको निरन्तरता र विस्तारबारे पनि भन्नुभएको थियो: आफूले शरीर छोडेपछि झन् धेरै मानिसहरू आउनेछन्, झन् धेरैले चासो राख्नेछन्, र यो काम हाम्रो कल्पनाभन्दा धेरै ठूलो हुनेछ। अहिले त्यही भइरहेको छ।